Tuesday, February 6, 2018

६ नम्बर प्रदेश सुनको डल्लो भएको माओवादी नेता शर्माको दावी




सुर्खेत, माघ २४ – नेकपा माओवादी केन्द्रले ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको यही माघ २५ गतेसम्म टुङ्गो लगाउने भएको छ । 
माओवादी केन्द्रका नेता एवं रुकुम पश्चिमबाट प्रनिनिधि सभाका सदस्य जनार्दन शर्माले पार्टीले २५ गतेभित्र ६ नम्बर प्रदेशको मुख्यमन्त्री टुङ्गाउने बताउनु भएको हो । मंगलबार विरेन्द्रनगरमा प्रेस सेन्टर नेपाल प्रदेश ६ ले  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले २५ गते हुने छलफलमा मुख्यमन्त्रीको टुङ्गो लगाउने बताउनु भएको हो  । 
६ नम्बर प्रदेशका लागि मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही र नरेश भण्डारीेको  दावी रहँदै आएको छ । उहाँले पार्टी छलफल गरेर एक जनालाई विधिसम्वत रुपमा चुन्नने बताउनु भयो । मुख्यमन्त्री टुङ्गाउन  सहजीकरण गर्न सुर्खेत आउनु भएका शर्माले मुख्यमन्त्रीमा दावी गर्नु, धेरैको इच्छा हुनु स्वभाविक भएको र मुख्यमन्त्री टुङ्गाउन समस्या र विवाद नभएको भन्दै यसलाई सहज तरिकाले टुङ्ग्याउने बताउनुभयो ।  
यसैबीच उहाँले वाम गठबन्धनको पार्टी एकताको औपाचारिक घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ । चुनावअघि वाम एकता गर्ने घोषणा गरेकाले यसलाई जनताले अनुमोदन गरेको भन्दै यसलाई औपचारिक घोषणा गर्न सकारात्मक छलफल भइरहेको बताउनुभयो । उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने पनि स्पष्ट पार्नुभयो । 
शर्माले सरकार निर्माण र पार्टी एकता सँगसँगै हुने पनि बताउनुभयो । प्रचण्ड अध्यक्ष नभए पार्टी एकता हुँदैन भन्ने कुरा माओवादी नेताहरुबाट आएको छ नि भन्ने प्रश्नमा उहाँले त्यो सबै भ्रम फैलाइएको भन्दै त्यसको पछि नलाग्न उहाँले आग्रह गर्नु भयो  ।
‘पार्टीको अध्यक्ष को हुन्छ भन्ने जवाफ दुवै अध्यक्षले छलफल गरेर निर्णय दिनुहुन्छ’ उहाँले भन्नुभयो, ‘यस विषयमा म केही भन्न चाहन्न । तर पार्टी एकता जसरी पनि हुन्छ । जनताले पार्टी एकताको सपना देखाएका छन् । जनताको सपनालाई त्यसै मृत्यु हुन दिनुहुँदैन् ।

६ नम्बर प्रदेश  १० वर्षमा देशकै नम्बर एक प्रदेश बन्ने

शर्माले प्रदेश नम्बर ६ लाई अबको १० वर्षमा समृद्ध प्रदेश बनाएर देशकै एक नम्बर प्रदेश बनाउने बताउनुभयो । उहाँले प्रदेशको विकासको लागि दलगत नभएर सबै एक जुट भएर लागे अबको १० वर्षमा विकास गर्न सकिने बताउनु भयो । 

६ नम्बर प्रदेश सुनको डल्ला भएकोले सुनको डल्लोबाट के बनाउने भन्नेमा भर पर्ने भन्दै अब कालिगढको आवश्यक रहेकाले यस प्रदेशमा बन्ने सरकारले कालिगढको काम गर्ने दावी गर्नुभएको छ । ‘६ नम्बर प्रदेश जलस्रोत, जडिबुटी, कृषि, पर्यटनलगायतको धेरै सम्भाना बोकेको प्रदेश हो । यस प्रदेशलाई बनाउन कालिगढको आवश्यक छ’ उहाँले भन्नुभयो ‘अब हामी सबै मिलेर कालिगढको काम गर्न आवश्यक छ ।’

६ नम्बर प्रदेश पछि परेको छ भनेर नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यहाँका समस्याहरु साझा चुनौतिको रुपमा लिएर सकारात्मक भएर विकासमा लाग्न पनि उहाँले सबैलाई अनुरोध गर्नुभएको  छ ।

No comments:

Post a Comment